सत्य सहने साहस छ भने

भुटानी शरणार्थी काण्डले हामीलाई ऐना उपहार दिएर गएको छ। त्यसको प्रयोग गर्नु नगर्नु हाम्रै हातमा छ। ऐना त हामीलाई लाउडा काण्डले पनि दिएको थियो। ऐना त हामीलाई ओम्नीले पनि दिएको थियो। ऐना त हामीलाई बाइडबडीले पनि दिएको थियो, ऐना त हामीलाई केन्टोनमेन्टले पनि दिएको थियो। ऐना त हामीलाइ कोविडका बेला थर्मामिटर काण्डले पनि दिएको थियो। ऐना त हामीलाई कोविड पछी रिइन्सुरेन्स कम्पनीले पनि दिएको थियो, ऐना त हामीलाई १२ भाइ कान्डले पनि दिएको थियो, ऐना त ऐनसेलले पनि दिएको थियो, ऐना त हामीलाई अब धेरै चाडै नया स्टक एक्सचेन्स कम्पनीको ठेक्काले पनि दिनेछ, ऐना त हामीलाई…( लिस्ट जति तन्काए हुन्छ )

नेपालमा ऐनाको न कुनै कमी थियो। न छ। कुन ऐना हेर्ने ? कुन नहेर्ने ? सवाल त्यतिमात्र हो।

ईतिहासको बोध भएको हुनाले मलाई हतारो हुन्न। म ती अगुवाहरुमा पर्न सक्दिन जो केही बर्ष अघि संवैधानिक निकायका प्रमुख वा सदस्य भए बापत सुविधा भोग गर्दै थिए । र आज ‘अभियुक्तलाई सडकमा घिसारेर न्याय दिने’ कुरा गर्छन ।

के यो संविधानको आयु सकिन लागेको हो ? के न्याय दिने संस्थाहरु मरीसकेका हुन ? कुनै युवाले वा कहिल्यै कुनै संवैधानिक पदमा नबसेको मान्छेले ‘सडकमा धिसार्ने’ कुरा गर्दा उस्को आवेगलाई बुझ्न पनि सकिएला । तर ‘ओहदाधारी’ र राज्यकोषबाट पेन्सन पट्टाधारीबाट समाजले न्युनतम अपेक्षा राखेको हुन्छ।

न्याय म पनि चाहन्छु। तर न्याय मेरो लागी संज्ञा (Noun) होइन, क्रिया (Verb) हो। त्यसैले त २०४६ सालको आन्दोलन अघि आफ्नो बिवेकको आवाजमा नेपाल टेलिभिजन स्वेच्छाले छोडे । ६२ सालमा सरकारी टेलिभिजनको छदाखादाको काम आफै छोडे ।

यतिका बर्ष पछी, जब आज म सक्रिय पत्रकारितामा छुइन, अर्ध-अवकाश जीवनको आनन्द लिदैछु – कयौ जिज्ञाषा छन मेरो मनमा पनि – शुशासन र भ्रष्टाचार बिषयमा ।

आजको खुल्ला र अराजक वातावरणमा यस बिषयमा चर्को लेख्ने बोल्ने कयौ त सायद जन्मेका पनि थिएनन, जब हामी ‘साप्ताहिक बिमर्श’ मा थियौ। जब बिसंगति बिरुद्ध आवाज उठाए बापत हाम्रा सम्पादकलाई गोली हानिएको थियो। जब म बीर अस्पतालमा उनको बेड छेउ स्टुलमा रातभर कुरेर बसे। वा , जब कालान्तरमा हामीले कान्तिपुर प्रकाशनको ‘नेपाल’ पत्रिका को संस्थापक सम्पादकका हैसियतले ‘लाउडा प्रकरण’ मा निरन्तर आवाज उठायौ ..

‘लाउडा’ कुनै सामान्य प्रकरण थिएन, बहालवाल प्रधानमंत्री मुछिएका थिए त्यसमा । बिगतका धेरै उदाहरण दिन सकिन्छ यस्तै खाले .. तर बिगत जतिसुकै सौर्यवान भए पनि त्यसले वर्तमानको बोझ थाम्न सक्दैन। बर्तमानको बोझ बर्तमानले नै थाम्नु पर्छ। यो नै प्रकृतिको रित हो ।

तर एउटा कुराको हेक्का राख्नु पर्छ – जिम्मेवारीको बोझ एक कांधबाट अर्को कांधमा सार्ने बेला सहजतापुर्वक त्यो गर्न सकिएन भने – पुरै घैटो फुटने जोखिम पनि हुन्छ । नया र पुराना दुबै कांध बेकम्मा , जिल्लाराम र चिल्लाराम हुन सक्छन । दुधको मलाई खाने बेला , न ‘नया’ , न पुरानो ; कुनै तेस्रो आइपुग्छ ..

अ , सुनयनाको लामो पत्र आएको छ । उनको आग्रह छ – म भुटानी शरणार्थी प्रकरणबारे केही लेखौ , पोडकास्ट गरौ । मलाई लाग्छ उनको अपेक्षा जायज़ हो ।

प्रिय सुनयना, तिम्रो अनुरोध टार्न मलाई गाह्रो लाग्छ । तिमी उदाउन लागेको सुर्य हौ । म अस्ताउन बेलाको घाम हु । तर मलाई सिकाइएको छ – ‘ उदाउन लागेको सुर्यको रंग रातो हुन्छ। अस्ताउन थालेको सुर्यको रंग पनि रातै हुन्छ । प्रज्ञावान मान्छेका लागी, उदाउनु र अस्ताउनु एकै हो । ‘

भुटानी शरणार्थी प्रकरणबारे लेख्न तिमीले गरेको अनुरोध मलाई स्विकार्य छ, सदा झै । चार , छ दिन लाग्ला । अल्छी छु । आलस्य पछी जति समय बाकी रहन्छ – त्यो पनि मेरा अन्य प्राथमिकताहरुमा खर्च हुन्छ ।

तर पनि केही यस्तो लेखौला, तिमीलाई बिर्सन अलि समय लाग्नेछ । शिर्षक चाही आजै भनी हालौ । यसै पनि टेलर र फिलिम देखाउनेको जमाना छ। एउटा टेलर हाम्रो पनि जाओस न । मेरो शिर्षक हुनेछ– सत्य सहने साहस छ भने !

आजलाइ यत्तिनै । आज मरनिङ वाक जान बाकी छ । छानामा परेवा दाना पर्खी बसेका छन , मलाई देख्ने बित्तिकै खुसी हुन्छन । मेरो स्वान्तसुखायका लागी त्यो बढी महत्वपूर्ण छ …

आदर्शहरू नभएको समाज ?

विजय कुमारनयाँ दशक सुरु भएको छ । ८० को दशक । मभित्र पत्रकार कति बाँकी छ ? भन्न सक्दिनँ । म यो पनि भन्न सक्दिनँ – मभित्र ती सामग्री  पढ्ने जाँगर कति बाँकी छ, जसलाई मान्छेहरू ‘समाचार’ भन्छन् वा ‘विचार’को नाम दिएर छाप्छन् ।

कोभिड लकडाउनपछि छुटेको अखबार पढ्ने बानी आजसम्म फर्केको छैन । महिनौं, वर्षौंको ‘ग्याप’पछि विश्वकप फुटबल हेर्न खुलेको टेलिभिजन सेटमा फाइनल खेल सकिएपछि मेरो ध्यान हिजोआज महिनामा एक पटक मात्र जान्छ । जब मलाई लाग्छ, स्क्रिनमा जमेको धूलो पुछ्ने बेला भयो होला भनेर ।

म सधैं यस्तो थिइनँ । एक युग यस्तो पनि थियो, जब मलाई लाग्थ्यो – म भित्र पत्रकारबाहेक अरू केही पनि छैन । मलाई लाग्थ्यो – हरदिनको समाचारसँग अपडेट हुनु जीवनको अनिवार्यता हो । म ठान्थें, पत्रकार नभएको दिन मसँग केही बाँकी रहनेछैन ।

पञ्चायती व्यवस्थाका दौरान मैले काम गर्ने साप्ताहिकका सम्पादकहरू जेल परे, टाउकोमा गोली खाए । कैयौं पटक हाम्रो पत्रिकाको दर्ता खारेज गरियो । तर त्यस्तो समयमा पनि हामीले हरेस खाएनौं ।

जीवनमा कुनै विकल्प नभएर वा काम नपाएर म पत्रिकारितामा आएको थिइनँ । पुल्चोक क्याम्पसमा मेरिट लिस्टको विद्यार्थी थिएँ । इन्जिनियरिङको सुरक्षित करिअर छाडेर मैले पत्रकारिता गरेबापतका अभाव र प्रताडनाको बोझ कुनै झर्को नमानी खुसीसाथ बोकें । किनभने ती दिनमा हामीसँग सपना थियो । साहस थियो । धैर्य थियो । थोरबहुत प्रतिभा थियो । र, सबैभन्दा ठूलो कुरा त्यस बखत हामीसँग केही जीवित आदर्श थिए । हामीसँग केही यस्ता अग्रज थिए, जसलाई हामी धेरै सम्मान र इज्जतका साथ हेर्ने गर्थ्यौं । पत्रकारितामा उनीहरू हाम्रा आदर्श थिए । हाम्रा महान् आदर्शहरू नै हाम्रो औसत जीवनका इन्धन थिए । उनीहरू थिए, हामीलाई त्यति भए लाख हुन्थ्यो ।

समयक्रममा हामीले थाहा पाउँदै गयौं कि, हामीले आदर्श मानेका अग्रजहरू त्यति महान् र आदर्शमय थिएनन्, जति हामी ठान्ने गर्थ्यौं । तर यो नयाँ जानकारीले पनि हाम्रो मनमा अग्रजहरूप्रति सम्मानमा कुनै कमी ल्याएन । मलाई हमेसा लाग्यो, मान्छे आफ्नो कमजोरीका साथ पनि महान् हुन सक्छ । पूर्णिमाको चन्द्रमासँग मेरो प्रेम छ । म ती मान्छेहरूमा पर्न सक्दिनँ, जसलाई हजार पटक पूर्णिमाको जून देखाए पनि त्यसमा दागबाहेक केही देख्दैनन् ।

दाग नभएको चन्द्रमा कागजमा मात्र सम्भव छ, आकाशमा होइन । त्यसैले मलाई कागजको फूल होस् वा चन्द्रमाहरूमा कहिल्यै रुचि भएन । चाहे ती जतिसुकै बेदाग किन नदेखिऊन् ।

त्यसैले मैले आफ्ना अग्रजहरूमा भएका महान् गुणहरू देखें । उनीहरूमा भएका सानातिना मानवोचित कमीकमजोरीलाई नजरअन्दाज गरिदिएँ । किनभने मलाई लाग्य – खोटरहित आदर्श कागजमा मात्र सम्भव हुन्छ ।

पत्रकारितामा मात्र होइन, त्यस बखतको नेपालमा जीवनका हर क्षेत्रमा आदर्शहरू थिए । त्रिचन्द्र क्याम्पसको कम्पाउन्डमा एक दिन कुनै विद्यार्थीले आफ्नो अगाडि चुरोट तानेको देखेर प्राध्यापक दिव्यदेव भट्टले त्यो विद्यार्थीका गाला चड्काइदिए । गुरुले चड्काएर पनि विद्यार्थीले वनस्पतिशास्त्रका पहिला नेपाली पिएचडी डा. भट्टलाई आफ्नो आदर्श मान्न छाडेन ।

राजनीति होस् या साहित्य वा सङ्गीत वा चित्रकला अथवा जीवनको अन्य कुनै विधा – हर क्षेत्रमा आदर्शहरू थिए । बिपी, गणेशमानजी, किसुनजी, पुष्पलालजी, पारिजात, भूपी, शङ्कर लामिछाने, नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, नारायणगोपाल, लैनसिह वाङ्देल, शशि शाह, यदुनाथ खनाल, डोरबहादुर विष्ट, महेशचन्द्र रेग्मी, हर्क गुरुङ, रत्नबहादुर विष्ट, गणेशराज शर्मा – लामो सूची बनाउन सकिन्छ, हर विधाका आदर्श नक्षत्रहरूलाई समावेश गरेर ।

मैले कुनै युगमा एउटा कार्यक्रम प्रस्तुत गरेको थिए – ‘शनिबार विजयकुमारसँग  : समाजका उज्यालाहरू ।’ त्यस्तै खाले सकारात्मक सोचबाट प्रभावित अर्को सिरिज प्रस्तुत गरेको थिए – ‘मेरो जिन्दगी  :  मेरो विश्वास ।’ ती दुवै शृङ्खलामा आएका केही नामलाई समाजको ठूलो हिस्साले लामो समयसम्म आदर्श मान्यो । धेरै मान्छेले प्रेरणा लिए, तिनीहरूको जीवन र कर्मबाट ।

यो त भयो, हिजोको नेपालले उत्पादन गरेका आदर्शहरूको कुरा । के आजको नेपालमा कुनै आदर्श छन् ? के आजको नेपालले उत्पादन गरेका आदर्शहरूको सूची बनाउन सकिन्छ ? कदाचित् कुनै सूची बन्यो भने, के त्यसले समाजमा व्यापक अनुमोदन प्राप्त गर्न सक्छ ?  कदाचित् त्यस्तो कुनै सूची बन्यो वा त्यस्तो कुनै नाम अगाडि आयो भने पनि त्यो नाम कतिन्जेल टिक्छ ? हामी त्यसलाई कतिबेर चुचुरोमा टिक्न दिन्छौं ? कुनै पनि पेसाको चचुरो गजबको ठाउँ हुन्छ । त्यहाँ चढ्न जति मुस्किल, टिक्न कैयौं गुणा गाह्रो ।

कृपया मलाई बताउनुस्, के तपाईं आजको नेपालका आदर्शहरूको सूची बनाउन सक्नुहुन्छ ? जसको कामको सुगन्ध वर्षौंवर्षपछि पनि कायमै रहनेछ ।

कृपया त्यस सूचीमा तपाईं सन्दुक रुइत, भगवान कोइराला वा दीप श्रेष्ठ जस्ता सजिला नाम नजोड्नुहोला । ती नाम आजको नेपालका होइनन्, हिजोको नेपालका उत्पादन हुन्; भलै ती आज पनि सक्रिय छन् ।

के आजको नेपालको बौद्धिक जगत्मा कुनै यस्तो नाम छ ? जसको कुनै कृति – महेशचन्द्र रेग्मी वा डोरबहादुर विष्ट वा हर्क गुरुङ वा सत्यमोहन जोशी वा कमलप्रकाश मल्लका कृतिको छेउछाउ उभिन सकोस् ।

आज हाम्रा विश्वविद्यालयहरूमा त्यो साइजका मान्छेहरू किन छैनन्, जसलाई टाढैबाट हेर्दा श्रद्धा जागोस् । तिनीहरू हाम्रो छेउबाट निस्कँदा, मनमा स्वचालित रूपले नमनभाव जागोस् । उनीहरू आउँदा बाटो छाडेर किनारमा एकछिन उभिएर सम्मान प्रकट गर्न मन लागोस् । पछिल्लो केही समयमा मेरो मनमा आदर्शहरूलाई लिएर सवालहरूको हावाहुरी चल्न थालेको छ ।

के नेपाली समाजमा सम्मान गर्न लायक मान्छे सकिएका हुन् ? के समाजमा अब नकारात्मकताको भाष्यबाहेक केही छैन ? के नकारात्मकता नै आजको मूलप्रवाह भाष्य हो ? के परनिन्दा नै हामी हुनुको एक मात्र अर्थ हो ? जस्को नाम लिए पनि ‘को हो र त्यो मुला ? को हो र त्यो मुली ?’ भन्ने भावना किन ब्यापक हुंदैछ ?

के यही विशुद्ध नकारात्मक भाष्यको पोखरीमा हामीले  – राम्रा, नराम्रा र औसत – तीनैथरीलाई एकै घानमा हालेकाले आजको नेपालमा भएका कैयौं आदर्श पनि नदेखिएका हुन् ? वा कसैमा राम्रो आदर्श देख्ने रसायन नै नेपाली समाजमा सुकेको हो ? वा जनताले आदर्श मानेका कैयौंले पालैपालो आफैंलाई खसाल्दै गएको अवस्था हो ? कुनै पनि क्षेत्रको नेताले आफूलाई आदर्श नेताको स्थानमा किन राखिराख्न सक्दैन ? के आदर्श नेता एक असम्भव कल्पना हो ?

नेपालमा भएका आदर्शहरू आफ्नो स्वाभाविक मृत्यु मरेका हुन् ? वा मारिएका हुन् ? वा तिनले आफूलाई आफ्नो ठाउँमा राख्न नसकेर आत्महत्या गरेका हुन् ? कारण जेसुकै होस्, नेपाली समाजमा आदर्शहरू हराउँदै गएको कुरा सत्य हो । हुन त सवाल यो पनि उठ्छ, के आदर्शहरू नेपालमा मात्र हराउँदै गएका हुन् वा आजको दुनियाँमा संसारभर यहीँ हुँदै गएको छ ?

यही प्रसङ्गमा कुरा गर्दा प्रश्न त यो पनि उठछ – के कोही मान्छे जीवनको एक कालमा आदर्श हुंदैमा सर्वकालिक आदर्श भइरहन सम्भव छ ? आदर्श क्षणिक विषय हो कि सर्वकालिक कुरा हो ? आदर्श क्षणिक कुरा हो भने आज पनि कैयौं नाम छन्, जसलाई हामी आदरपूर्वक किन स्मरण गर्छौं, उनीहरू बितेको यतिका वर्षपछि पनि किन याद आउँछन् उनीहरू ?

कदाचित् बिपी, पुष्पलाल, गणेशमानजी, किसुनजी, मनमोहनजी, सहाना प्रधान, मङ्गलादेवी वा मदन भण्डारी वा राजा महेन्द्र र राजा बिरेन्द्र आज जीवित र सक्रिय राजनीतिमा भएका भए के उनीहरू आदर्श भइरहन सक्थे ? के आजको युग, समाज, मिडिया र सञ्जालले उनीहरूलाई त्यस उचाइमा बसिखान दिन्थ्यो ? वा उनीहरूले कुनै बेग्लै तरिकाले, कुनै मौलिक तरिकाले – आफ्नो शालीनता र महानतालाई कायमै राख्थे ? म यसै भन्न सक्दिनँ ।

के आदर्श स्वतः उत्पन्न हुन्छ ? वा त्यसलाई समाजले, राजनीतिक दलहरूले, सरकारले, संसद्ले, प्रतिपक्षले, अदातलतले, मिडियाले, निजी क्षेत्रका प्रतिष्ठानहरूले थोरबहुत मलजल गर्नुपर्छ कि पर्दैन ? के आदर्श स्वतः हुर्कन्छ ? वा समाजले त्यसलाई हुर्कन थोरबहुत भरथेग गर्नुपर्छ ? के सत्य आफैं जित्छ ? वा सत्यलाई जिताउनु पनि पर्छ ?

यस्तै सवालहरूमा चिन्तन गर्दै जाँदा म ठोकिन पुगें, नीरज पौडेलसँग । अर्थशास्त्री नीरजको विद्यावारिधि अर्थशास्त्रमा छ । म उनीसँग बेलाबखत अर्थशास्त्रको आलोकमा बृहत् समाजबारे कुरा गर्न रुचाउँछु । नीरजलाई पनि मैले डेढदुई दशकदेखि प्रयोग गर्दै आएको तर हाल अकाट्य रूपमा स्थापित हुँदै आएको ‘वैश्ययुग’मा गहिरो रुचि छ ।

एक दिनको कुरा हो ।

नीरज पौडेलले भने, ‘आजको नेपाली समाजमा कुनै आदर्श बाँकी छैनन् । हामीले कसैलाई बाँकी नै राखेनौं । आदर्शहरू निर्माण हुने प्रक्रियाको नै हत्या गरियो । जानाजान र अनजान दुवै किसिमले यो कृत्य गरियो । आजको नेपाली समाजका आदर्शहरू नेपालमा होइन, नेपालबाहिर मात्र बन्न सक्ने, बस्न सक्ने परिस्थितिको निर्माण गरियो । आदर्श नभएको समाज यस्तै हुन्छ, जस्तो आजको नेपाल छ ।’

‘नीरजजी, नेपाली समाजबाट आदर्शहरू कुन प्रक्रियाबाट लोप भए ? के तिनीहरूको स्वाभाविक मृत्यु भयो ? वा जानी नजानी हत्या गरियो ?’

‘यो सवालको जवाफ मलाई भन्दा तपाईंलाई बढ्ता थाहा छ, विजयजी । लेख्नुस् न बरु यो विषयमा, बोल्नुस् न यो विषयम – किन हामी आदर्श नै नभएका मान्छेहरूको समाज बन्यौं ? हर क्षेत्रमा भएका नायक–नायिकालाई विखण्डन गरेर, उनीहरूका जायज–नाजायज अतिरञ्जित मानमर्दन गरेर आज हामी कस्तो समाजमा आइपुग्यौं ? यस्तो समाज, जोसित कुनै आदर्श छैन ! यस्तो समाज, जहाँ कसैले कसैलाई देशभित्र कसैलाई आदर्श मान्दैन, जसको नाम भने पनि ए त्यो मूला भन्छ । आफ्नो आदर्श खोज्न कि कतार जान चाहन्छ वा क्यानडा वा गच्छेअनुसार यस्तै कतै अर्को भूगोल जाने सपना देख्छ वा बाध्य छ । वा देशभित्रै बसेर ए त्यो मूला अथवा त्यो मूली भन्दै जीवन काट्छ ।’

यो सुनेपछि मैले जवाफ फर्काएँ, ‘म तपाईंसँग धेरै हदमा सहमत छु, नीरजजी । आज नेपालमा कोही गरिब होस् या धनी— उसले नेपाल होइन, अन्तै कतै आफ्नो भविष्य देख्छ वा देख्न थालेको छ । नेपालमा कसैले कसैलाई गन्नै छाडेको अवस्था छ, सिवाय आफ्नो पक्ष, सिवाय आफ्नो गुटको नेता । युवा पुस्ताका लागि नेपालमा कुनै विराट् आदर्श बाँकी रहे जस्तो मलाई पनि लाग्न छाडेको छ । तर म आशावादी मान्छे हुँ । म प्रयास गर्नेछु, तपार्इंको सवालको जवाफ खोज्ने, छलफल चलाउने— किन आज नेपाली समाजमा आदर्शहरू बाँकी छैनन् ? मलाई लाग्छ, यो एक यस्तो मौलिक प्रश्न हो, जसको सन्तोषजनक जवाफ फेला नपारी; नेपालबारे बाँकी प्रश्न उठाउनु या त अज्ञानताको परिचायक हो या कपटी चालबाजी हो । यस प्रश्नबाट हामी धेरै उत्तरहरूको छेउछाउ पुग्न सक्छौं ।’

यति भनेर मैले कफी रित्याएँ र हामी आआफ्नो बाटो लाग्यौं । त्यस दिन घर पुगेर म धेरै बेरसम्म डा. नीरजको प्रश्नमा घोत्लिएँ । आजका मितिसम्म नीरजले सायद आफ्नो प्रश्न बिर्से होलान् । तर मैले उनको प्रश्न भुल्न सकेको छुइनँ ।

प्रश्न उठाउन सजिलो छ; जवाफ दिन मुस्किल छ । राजनीति नेपालको सबैभन्दा ठूलो उद्योग हो भनेर यस देशमा सबैभन्दा पहिला भन्ने र लेख्ने मान्छे हुँ म । राजनीतिपछि नेपालमा ‘प्रश्न उठाउने उद्योग’ ज्यादै फस्टाएको छ । यसैबीच हर दिन, हर पल जायज–नाजायज प्रश्न उठाएर समाजलाई निरन्तर हुँडलिरहने हुल खडा भएको छ । यसो भनेर म प्रश्नको महत्तालाई रत्तिभर न्यूनीकरण गर्न रहेको छुइनँ । सिक्काको अर्को कोणलाई ऐना देखाएको चाहिँ जरुर हो ।

प्रश्नको महत्त्व उच्चतम छ । खुसीमा कतै लेखेको छ – श्रीमद्भगवद्गीताको जन्म श्रीकृष्णका जवाफका कारण होइन, अर्जुनका प्रश्नहरूको परिणाम हो । अर्जुनको साटो नहकुलले – ‘कसरी कौरव सेनालाई मारौं, कसरी गुरु द्रोणाचार्यको वध गरौं, माया लाग्छ’ भनेर प्रश्न सोधेका भए श्रीकृष्णले मुस्कुराएर टालिदिने थिए, छोटी मुह बडी बात भनेर । गीता प्रथम अध्यायमै तिरोहित हुन्थ्यो, कुरा त्यहीँ सकिन्थ्यो ।

तर सवाल नहकुलले होइन, अर्जुनले सोधेका थिए । एक्लै कौरव सेनालाई ध्वस्त गर्ने क्षमता राख्थे महारथी अर्जुन । त्यसैले श्रीकृष्ण हलुका जवाफ दिएर पन्छन सक्दैनथे । प्रश्नको महत्त्व ठूलो छ । तर प्रश्न आफैंमा सर्वोपरि होइन । प्रश्न केही थोक हो । प्रश्न सबथोक होइन ।

हामी प्रश्न किन सोध्दै छौं ? आफ्नो मनको स्वाभाविक जिज्ञासाका लागि ? मुक्तिका लागि ? अरूभन्दा जान्नेछु भनेर देखाउनका लागि ? अरूलाई खसाल्नका लागि ? नितदिन नयाँ तमासा खोज्ने आफ्नो रोगी मनको खुराकका लागि ? कुनै ‘टक सो’का लागि निर्धारित समय भर्नका लागि ? वा समाजका समस्या समाधान होऊन् भन्ने असल मनसायका लागि ? सञ्जालमा फलोअर बढाउनका लागि ? आलोचनात्मक चेतका लागि ? वा आलुचनात्मक चेतका लागि… प्रश्न केका लागि ?

प्रश्नका पछाडि नियत के हो ? आफ्नो निजी वा गुटगत अहङ्कारको तुष्टिका लागि ? कसैको बेइज्जत गर्नका लागि ? तमासा र मनोरञ्जनका लागि ? रेला वा मेलाका लागि ? वा कुनै समस्या समाधानमा सहयोगी हुनका लागि… के का लागि ?

प्रश्न सोध्नु महत्त्वपूर्ण छ । तर प्रश्न आफैंमा समाधान होइन । प्रश्न समाधानभन्दा महत्त्वपूर्ण होइन । एक भनाइ छ – ‘प्रार्थना गर्ने ओठहरू वा नाराबाजी गर्ने जिब्राहरूभन्दा सेवा गर्ने हात बढी महत्त्वपूर्ण हुन्छन् ।’

शब्दकोशमा जीवनलाई संज्ञा (noun) भनेको हुन्छ । तर यथार्थमा – जीवन क्रिया (verb) हो । यो व्याकरणगत अलमल नै आजको अज्ञानको बीउ बनेको छ । आजको नेपालमा कैयौं समस्याको जरो हो यो ।

किताबमा जीवनलाई संज्ञा भनिएको छ । जीवनका यथार्थमा जीवन क्रिया हो । यो वैचारिक अस्पष्टता जारी नै रहे जीवन ८० को दशकमा पनि त्यसरी नै चल्नेछ, जसरी चल्दै आएको छ । के ०८० को दशक नेपालीका निम्ति सोचको नयाँ जागरणको ‘रेनेसा’ लिएर आउनेछ ?

ज्ञान (knowledge) बुद्धि (Intellegence) प्रज्ञा (Wisdom) फरक कुरा हुन् । नेपाल त अहिले त्यो स्टेजमा छ, जहाँ विश्वविद्यालयमा पढाउने कैयौं मान्छेलाई सूचना र ज्ञान विषयको सामान्य अन्तर पनि थाहा छैन ।

त्यसैले त मैले ‘डिग्रीधारी मूर्खहरू र खुइलिँदै गएको बौद्धिकता’ भन्ने पोडकास्ट गरें । सुरुमा हाम्रा कैयौं बौद्धिक रिसाए । पोडकास्ट गरेको दुई वर्षपछि आज बिस्तारै भन्न थाले— केही दम त छ त्यो पोडकास्टमा । अब आउने दुईचार वर्षपछि त्यसमा थप केही प्रतिशत दम देख्नेछन् । त्यति भए पुग्यो मलाई । सुलभ सूचनाको यस युगमा हिजोका दिन जस्तै कोही पनि फगत सूचना हात पारेको बलमा विशेष बौद्धिक हुन सक्दैन । हिजोका कैयौं ‘विशिष्टहरू’ गुगल क्रान्तिपछि आजका ‘सामान्यमा’ परिणत भएका छन् । आकर्षणको रङ खुइलिएको छ । यो स्वाभाविक प्रक्रिया हो । यसमा कोही रिसाउनुपर्ने वा खुसाउनुपर्ने केही छैन । हामी इन्टरनेट क्रान्तिका मारक प्रभावहरू बुझ्न असमर्थ छौं ।

एक प्रसिद्ध वचन छ – सही सवाल सोध्नु बुद्धिमानी हो । सही जवाफ दिन सक्नु ज्ञान हो । कुन बखत, कुन सवाल सोध्ने भन्ने बोध हुनु प्रज्ञा हो । Wisdom is knowing when to ask the right questions.

त्यस्तै एउटा पुरानो लोकोक्ति छ – ‘एउटा मूर्खले एक मिनेटमा जति सवाल उठाउन सक्छ, कुनै बुद्धिमानले त्यसको जवाफ सारा जीवन लगाएर पनि दिन सक्दैन ।’

यो त भयो पुरानो लोकोक्ति । आजको नेपालमा, बितेको सत्तरीको दशकको नेपालम – प्रश्न उठाउने फालाफाल भए, जवाफ दिने शून्यप्रायः भए । कहिलेकाही म सोच्छ – यो कस्तो समाज हो, जहाँ पाइला पाइलामा प्रश्न सोध्ने भेटिन्छन्, जवाफ दिनेको दर्शन दुर्लभ छ । भएभरका सबै प्रश्न उद्योगमा व्यस्त छन् । प्रधानमन्त्री पनि प्रश्न सोध्दै छन्, पिउन पनि प्रश्न सोध्दै छन् । समस्याको समाधान गर्छु भनेर आएका बालेन पनि अब प्रश्न सोध्नेहरूको अन्त्यहीन लाइनमा खडा भएका छन् । विश्वविद्यालयका मास्टर पनि प्रश्नमा मस्त छन् । उनका विद्यार्थी पनि त्यही काम गर्दै छन् । रिपोर्टर पनि प्रश्न सोध्दै छन्, प्रधान सम्पादक पनि प्रश्न नै सोध्दै छन् ।

ठूलो आवाज भएका मान्छेहरू दुई काममा बिजी छन – प्रश्न सोध्ने र समस्या देखाउने ।

नेपालमा— जवाफ दिने काम कसको हो ? कि कसैको पनि होइन ? समाधान गर्ने दायित्व कसको हो ? कि कसैको पनि होइन ? हामीले खोजेको समाधान हो कि फगत तमासा ? नितदिन नयाँ तमासा ।

यो तमासा सरकारी अङ्गहरूमा मात्र होइन, जीवनका हर क्षेत्रमा लागु छ । सबैलाई पपुलर हुनु छ । कामै नगरी । सबैलाई सजिलो बाटोको खोजी छ । हिँड्दै नहिँडी । आज कति धेरै प्रश्न सोध्नेहरू छन् समाजमा । अनि कति थोरै छन् जवाफ दिनेहरू । थोरै पनि नभनौं, छँदै छैनन् भन्दा पनि हुन्छ ।

यस्तो पनि समाज हुन्छ, जहाँ विपक्षभन्दा सत्ताधारी दलका ठुल्ठूला नेता नै हरदिन सरकारलाई प्रेसमार्फत सवाल सोध्छन् । सत्ताधारी दलको नेताले सरकारलाई प्रेसमार्फत सवाल सोध्ने हो ? सत्ताधारी दल वा गठबन्धनका नेताले सरकारलाई आमसभामा गएर प्रश्न सोध्ने हो ?

सत्ताधारी नेता नै त्यस्ता भएपछि सरकारी सेवामा कार्यरत बहालवाला कुनै कर्मचारी वा हिजै मात्र रिटायर्ड सचिव आफ्नै मन्त्रालयलाई फेसबुक, ट्विटरमार्फत सस्तो भाषामा नानाथरी गफ दिन्छ भने त्यसमा आश्चर्य के भयो र ! जैसा गुरु वैसा चेला ।

भारतीय जनता पार्टीका महाचिव वा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यल – भारत सरकार वा चीन सरकारलाई प्रेसमार्फत सवाल सोध्ने स्थितिको कल्पना गर्न सक्नुहुन्छ ? यो तमासा त्यहाँ कल्पना पनि गर्न सकिन्न । हाहाहा !

तर नेपालमा यो तमासा नितदिन हुन्छ । यो नठान्नुस् कि, भारत वा चीनमा सत्ताधारी दलका वरिष्ठ नेता वा बहालवाला कर्मचारीले सरकारलाई सवाल सोध्दैनन् । सोध्छन् । तर प्रेसमार्फत, सञ्जालमार्फत, आमसभामार्फत होइन । त्यसको त्यहाँ एउटा प्रक्रिया छ । त्यसको निर्धारित थलो छ । त्यसको एउटा लक्ष्मणरेखा छ ।

नीरजजी, मलाई प्रश्न उठाउने कामको गरिमा र महत्त्व राम्ररी थाहा छ । प्रश्न सोध्ने काम मैले कैयौं वर्ष गरें । प्रश्न सोधेबापत मैले पाएका पुरस्कार, पदक र सम्मानको सङ्ख्या सानो छैन । तर मलाई यो पनि थाहा छ – फजुल प्रश्न सोध्नुभन्दा उचित जवाफ फेला पार्नु धेरै अप्ठ्यारो र श्रेयष्कर कर्म हो ।

फजुलको होहल्ला गरेर अहोरात्र तमासा उत्पादन गर्नुभन्दा समस्या समाधानमा सानै भए पनि सघाउनु श्रेयस्कर जस्तो लाग्छ मलाई । मलाई आफ्नै जीवनमा मिडियामार्फत ठुल्ठुला प्रश्न सोधेको, तमासा देखाएको अनुभव छ । मलाई केही आम मानिसको जीवनमा सुधारको, समाधानको मधुरो दियो बालेको अनुभव पनि छ ।

अब म एउटा नयाँ प्रयास गर्न चाहन्छु । तर म यो काम एक्लै गर्न सक्दिनँ । यसका लागि मलाई समाजको सहयोग चाहिन्छ । यो एक लामो प्रक्रिया हुनेछ । समाजमा व्याप्त मानसिक अन्योल अलिकति भए पनि कम गर्ने अभियानको थालनी गर्ने । यतिका वर्षदेखि नेपाली समाजमा थुप्रिएको र थुपारिएको मानसिक र भावनात्मक फोहोर एकैपल्ट सफा गर्न सकिन्न । यो फोहोरको डङ्गुरका निम्ति राजनीतिक नेतृत्व सबैभन्दा बढी जिम्मेवार छ भन्ने कुरा त बच्चाले पनि भन्न सक्छ । तर के, कुरा त्यसैमा सीमित छ ?

राज्यका बाँकी अङ्गको जिम्मेवारी कति छ ? राज्य राज्य राज्य भनेर रातोदिन अखण्डपुराण नेपाली मिडिया र प्राज्ञिक क्षेत्रले जपी बस्छ । के राज्य भनेको सत्ताधारी सरकार मात्र हो ? सरकार पनि कस्तो, तासको पत्ता फेटिए झैं नितदिन नयाँ ड्रेसमा देखापर्ने मिस लावण्यदेवी झैं !

मलाई लाग्छ, नेपालका भौतिक समस्याको मूल कारण हाम्रो मानसिकतामा लुकेको छ । हामीसँग विश्लेषक धेरै भए, विचारक भएनन् । अलि गहिरो सोच्नेहरू, अलि टाढा देख्नेहरू थोरै भए । हिजोका दिनमा जति योग्यता भएका सञ्चारकर्मी वा बौद्धिक जगत् भए पुग्थ्यो, अब ८० को दशकमा त्योभन्दा बढी क्षमतावान् मान्छे चाहिन्छन् अब ।

आज हाम्रा कैयौं गलत नजरियाका लागि आजको विश्व सञ्चार प्रणाली पनि केही हदमा जिम्मेवार छ । लामो समयदेखि कार्यरत एक अल्छी सञ्चारकर्मीका नाताल – समाजमा जम्मा भएको यो मानसिक फोहोरको डङ्गुरका लागी – जानेर नजानेर म पनि थोरबहुत जिम्मेवार छु ।

पछिल्ला वर्षमा नेपाली प्रेस र कथित बौद्धिक जगत्मा ‘आलोचकात्मक चेत’का नाममा जे कैयौं आलुचनात्मक चेतका काम अहोरात्र भए, तिनले पनि समाजमा आदर्शहरूको ध्वंस गर्न जानअनजानमा मलजल गरे भन्न सङ्कोच मान्नुपर्दैन ।

आलोचनात्मक चेत एक स्तु्त्य गुण हो । तर यसको असली आलोचनात्मक चेतको निर्माण एक गहन र बहुआयामिक तपस्याबाट निर्माण हुन्छ । न कि आचे आचेको अहोरात्र मिडियाबाजी, बौद्धिकबाजी वा क्षणिक सञ्जालबाजीबाट । कसैमा आलोचनात्मक चेत हुनु र फगत आचे आचे गर्नुबीच महान् अन्तर छ, नीरजजी’ ।

‘सही भन्नुभो, विजयजी । समाजमा अब बिस्तारै यो रियलाइजेसन हुँदै छ । आलोचनात्मक चेतलाई हाम्रा मिडिया र केही सीमित एकेडेमिक्सले आचे आचे ठानेकै हुन् । तर भएभरका सबै एकेडेमिक आचे सोचबाट प्रभावित थिएनन्, छैनन् पनि । उनीहरू चुपचाप आफ्नो काम गर्छन्, हल्लाबाजी गर्दैनन् । मिडियाले तिनका कुरालाई पनि स्थान दिनुपर्छ । सिक्काको अर्को पाटो पनि छ भनेर बुझ्नुपर्छ । बुझाउन सक्नुपर्छ, विजयजी ।’

‘म प्रयास गर्नेछु, नीरजजी । आजको नेपालमा ‘आदर्शहरू’ नहुनुका (वा नदेखिनुका) पछाडि विद्यमान आचे आचे वातावरण त एक सानो कारण मात्र हो । मूल कारण त अरू नै छन् । कैयौं आदर्शहरू आजको समाजमा टिक्न नसकेर स्वेच्छाले किनारा लागे । कैयौं आदर्शहरू नियोजित तरिकाले खेदिए, लखेटिए । कैयौं आदर्श चाहिँ आफ्नै गलत आचरणका कारण ध्वस्त भए । तिनीहरूलाई कसैले मारेको होइन, तिनीहरूलाई कसैले लखेटेको होइन । तिनीहरूले आफैं आफूलाई खसालेका हुन् । लोभलालचमा नफस्नेलाई कसैले लोभ्याउन सक्दैन । सच्चा शाकाहारीलाई कसैले जबर्जस्ती मांसाहार गराउन सक्दैन । त्यसबाहेक आज आदर्शहरू पातलिनुका कैयौं कारण – वैश्ययुगका जटिलतासँग सम्बन्धित छन् । मलाई लाग्दैन, ती कारण फेला पार्न त्यति सजिलो छ । तैपनि प्रयास जरुरी छ । नयाँ दशकदेखि म सानो प्रयास गर्नेछु ।

मलाई लाग्छ, आजको नेपालको सबैभन्दा ठूलो समस्या कामकाजी विचारको रिक्तता हो । म ‘कामकाजी विचारको रिक्तता’ शब्द प्रयोग गर्दै छु । होइन भने, आजको नेपालमा समाचार र विचारबाहेक के पो छ र ?

कामकाजी विचार भनेको त्यस्तो विचार हो, जो सामान्य मान्छेको जीवनमा काम लाग्छ । कामकाजी विचार भनेको त्यो हो, जस्ले – सामान्य मान्छेलाई सोच्न सघाउँछ । कामकाजी विचार भनेको त्यस्तो विचार हो, जसले मान्छेको जीवनको क्वालिटीलाई सघाउँछ ।

चिया गफ, कफी कफ, भट्टी गफ वा सञ्जाले सेल्फ राइचियसनेसमा मात्र काम लाग्ने विचारको कुरा गरेको होइन यहाँ । मलाई लाग्छ, आजको सबैभन्दा ठूलो समस्या – जीवनलाई हेर्ने कामकाजी र अन्थेन्टिक दृष्टिकोणको अलमल हो । आजको अलमल – हाम्रो शिक्षा प्रणाली, मिडिया प्रणाली र प्राज्ञिक प्रणालीको असफलता पनि हो ।

हाम्रो शिक्षा जीवनसँग जोडिएको छैन भनेर त जसले पनि भन्न सक्छ । रातोदिन सबैले फलाकेकै पनि छन – हाम्रो शिक्षा जीवनसँग जोडिएको छैन भनेर । तर के हामीले जीवन स्यवम्लाई परिभाषित नगरीकन कस्तो शिक्षा जीवनसँग जोडिएको हुन्छ भन्न सक्छौं ?

के हामी हाम्रो जीवनका यथार्थहरूलाई सानै हदमा भए पनि परिभाषित गर्ने क्षमता राख्छौं ? जब हामीलाई जीवनकै बारे केही थाहा छैन भने, हामीलाई जीवनोपयोगी शिक्षाबारे कसरी थाहा हुन सक्छ ? जग नहालीकन बनाएको घर त्यस्तै हुन्छ, जस्तो आजको हाम्रो समाज छ ।

म अलिकति नियमित काम गर्ने उद्देश्यल – नयाँ र पुरानो पुस्ता मिसिएको एक ‘टिम’ बनाउन चाहन्छु, जसले नेपाली समाज, राजनीति र अर्थव्यवस्थाका विभिन्न आयामलाई एक मौलिक एवम् ताजा नजरबाट हेर्ने क्षमता राखोस् ।

एक यस्तो प्लेटफर्म – जहाँ प्रश्न त सोधिन्छ । तर फगत प्रश्नका लागि प्रश्न सोधिँदैन । जहाँ प्रश्न मात्र होइन, समाधानका ‘सम्भावना र सीमितता’बारे पनि स्पष्ट चर्चा गरिनेछ । प्रश्न सोध्ने फालाफाल भए, समाधानका कामकाजी उपाय बताउने शून्यप्रायः भए । प्रश्न सोध्ने फालाफाल भए तर हाम्रो देश, समाज र हाम्रो आफ्नै निजी क्षमताको सीमितता (Limitations) महसुस गराउने शून्यप्रायः भए । सम्भावना, समाधान र सीमितताको बोध नभएको समाज कहिल्यै अगाडि बढन सक्दैन ।

कैयौं प्रश्न आजको नेपालमा कपटपूर्वक भनौं या अज्ञानतावश लुकाइएका छन् । जस्तै, आदर्शहरू मरेको वा मारिएको समाज अगाडि कहिल्यै बढ्न सक्छ र ? के आदर्श स्वतः उत्पन्न हुन्छ ? कि त्यसलाई हुर्काउनुपर्छ ?

जब जब म सडकमा कुनै युवा देख्छु, भेट्छु वा जब उसले मलाई आफ्नो र देशको भविष्यलाई लिएर प्रश्न गर्छ – म अकमकिन्छु । मेरो बोल्ती बन्द हुन्छ । सतही जवाफ म उसलाई दिन चाहन्नँ । गहिरो जवाफका निम्ति त्यो स्थान उपयुक्त लाग्दैन ।

जता टेक्यो उतै खाल्डो भएको देशमा – चर्को स्वरमा समस्या देखाउन जसले पनि सक्छ । समस्याको जगमा टेकेर –  ठूलो स्वरमा कुखुरी काँ गरेबापत ठूला नेता वा ठूला मिडियावाल वा छापे बौद्धिक बन्ने चलन भएको देशमा यो कुनै आश्चर्यको कुरा होइन । तर समाधान गर्ने औकात राख्नु नितान्त भिन्न कुरा हो ।

के हामी शान्तभावले, एकअर्काका कमीकमजोरीप्रति अलिकति करूणा राखेर, समानुभूति राखेर छलफल गर्ने अनि समाधान खोज्ने, सीमितता महसुस गर्ने औकात राख्छौं ? प्रश्न मात्र होइन, हाम्रा सीमितताबारे खुला छलफल होस् र कामकाजी समाधान खोज्ने प्रयास होस् । कागजी वा सञ्जाले समाधान होइन, कामकाजी समाधानका उपाय खोजिऊन् ।

मेरो पत्रकारिताको सुरुवाती चरणमा मैले धेरै प्रश्न सोधें । पछिल्ला केही वर्षमा मैले किनारमा चुपचाप बसेर हेरें । अब जीवनको गोधूलि बेलामा, घाम डुब्न थालेका बखत म एक नयाँ ‘इनिङ’ खेल्न चाहन्छु । छापामा, टेलिभिजनमा, इन्टरनेटमा । मैले अघि नै भनें, म एउटा सानो टिम बनाउन चाहन्छु । नेपाली मिडियामा एक नयाँ मोडल सुरुवात गर्न चाहन्छु, जहाँ दर्शक, पाठक र शुभचिन्तकको निःसर्त आर्थिक सहयोगले काम हुन्छ ।

त्यसैले पाठक, दर्शक, श्रोता र शुभचिन्तकहरूको आर्थिक सहयोग चाहिएको छ । तपाईंहरू जो जहाँ भए पनि हाम्रो यो इच्छामा सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो बैङक खातामा आफूले खुसीसाथ सक्ने रकम पठाउनुहोला । हामी समाजमा ‘वैचारिक स्पष्टता’को एक नयाँ चरण स्थापित गर्ने सत्प्रयास गर्नेछौं – सञ्चार प्रणालीका विभिन्न माध्यमहरूमा ।

आज, जानुभन्दा पहिला फेरि एक पटक त्यही सवाल दोहोर्याउन चाहन्छ – आदर्शहरू मरेको वा मारिएको वा जनताले आदर्श ठानेकाहरू नै आफ्नो मर्यादामा टिक्नै नसक्ने देश अगाडि बढ्न सक्छ र ? सोच्नुस् है ।

अनि सानो सहयोग गर्न नभुल्नुहोला । सत्यले आफैं जित्दैन, त्यसलाई जिताउनुपर्छ । सिर्जनात्मकता र सकारात्मकता आफैं फैलिँदैन, त्यसलाई फैलिन सहयोग गर्नुपर्छ । हामी नेपालमा दर्शक, श्रोता र पाठकको सहयोगले चल्ने नयाँ मिडिया मोडेलको थालनी गर्न चाहन्छौं । हाम्रा लागि नयाँ भए पनि दुनियाका कैयौं देशमा यो वर्षौंदेखि चलेको टेस्टेड मोडल हो । हामीलाई स्वेच्छाले निःसर्त सानो सहयोग गर्न चाहनुहुन्छ भने, सानिमा बैंकमा रहेको हाम्रो खाताको क्युआर कोड तल राखिएको छ ।

धन्यवाद !

यो पोडकाष्टको भिडियो हेर्न लिङ्कः https://www.youtube.com/watch?v=nniK7VBz4Ns

फेसबुकः https://www.facebook.com/vijaykumarpanday.official
ट्विटरः https://twitter.com/Vijaykumarko